काठमाण्डौं, असार २८ । नेकपा एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी जानकारी गराइसकेको छ।

माओवादी केन्द्र सरकारबाट बाहिरिने जानकारी कांग्रेसलाई पनि दिएको माओवादी केन्द्रसँग विभिन्न वार्तामा संलग्न नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए।

माओवादी केन्द्रका नेताहरूसँग भएको छलफलमा सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधिसँगै लेखक पनि उपस्थित थिए।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केहीबेरमा नै माओवादी केन्द्रको निर्णय आउने बताए।

माओवादी केन्द्रका अर्का नेता मणि थापाले भने एमालेसँग सम्बन्ध टुटिसकेको र कांग्रेसलाई आफूहरू सरकारबाट फिर्ता हुने जानकारी दिइसकेको बताए। ‘साँझसम्ममै औपचारिक निर्णय हुन्छ,’ उनले भने।